सीमा नाका कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अवैध लागूऔषध चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कबाट आइतबार साँझतिर भारततर्फ गइरहेका पाँच जनालाई रोकेर चेकजाँच गर्दा उनीहरूमध्ये ३ जनाबाट १५ किलोभन्दा बढी लागूऔषध बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए।
पाँच जनामध्ये दाङको राप्ती गाउँपालिका–३, मसुरिया बस्ने ३४ वर्षीया रति रामाले कम्मरमा कपडाले बेरेर लुकाइछिपाई लैजान लागेको चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम बरामद गरिएको छ।
त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगर बस्ने ४५ वर्षीया पिनीसराले सासूसँगबाट अफिमजस्तो देखिने ५ किलो गिलो पदार्थ र उक्त ठाउँ बस्ने ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट पनि ५ किलो अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
उनीहरूसँगै दाङको राप्ती गाउँपालिका–३, मसुरियाकी ४३ वर्षीया विमला पुन, पर्साको ठोरी गाउँपालिका–२, टाउन प्लान घर भई हाल विजयनगर गाउँपालिका–४, ज्योतिनगर बस्ने ४८ वर्षीया चुमामामी लामिछाने पक्राउ परेका छन्।
पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। बरामद लागूऔषध परीक्षण गरी कहाँबाट कसरी ल्याइएको र घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए। उनले बताए।
























